काठमाडौं । बैंकमा पैसा थुप्रिन थालेको संकेत देखिएको छ । बैंकहरूको सिडी रेसियो ८४ प्रतिशत तल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । असार २ गतेको तथ्यांक अनुसार सिडी रेसियो ८३ दशमलव ९३ प्रतिशत रहेको छ । यो रेसियोको नियामकीय अङ्क ९० प्रतिशत भन्दा करीब ६ प्रतिशत विन्दुले कम हो ।
त्यस्तै, अन्तर बैंक ब्याज दर पनि ५ प्रतिशत तल नै रहेको छ । असार २ गतेको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ४ दशमलव ७२ प्रतिशत रहेको छ ।
निक्षेप वृद्धि हुँदा सो अनुरुप कर्जा प्रवाह हुन नसक्दा बजारबाट बैंकमा पैसा आएको छ । बजारमा आर्थिक गतिविधिहरू कम हुँदा कर्जाको माग न्युन देखिएको छ ।
आर्थिक क्रियाकलाप घटेको संकेत नेपाल वैदेशिक व्यापारको तथ्यांकले पनि देखाएको छ । हाल बैंकहरूमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहेको छ भने ४८ खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेको छ ।