लक्ष्मी सनराइज बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा मंसिर २५ गते

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर जारीपछि आवश्यक हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजेबाट सुरु हुने बैंकले जनाएको छ ।