एनएलजी इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा सम्पन्न

प्रस्तावित लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरबको नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

इन्स्योरेन्स कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियमनकारी निकायले कुनै फेरबदल गर्न सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

साधारण सभाले सञ्चालक समितिको बैठक भत्ता र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ । साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।