काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज बिहीबार जेठ २५ गते अन्तिम दिन हो । बैंकले आज कार्यालय समयसम्ममा आवेदन दिइसक्नुपर्ने सूचना सार्वजनिक गरेको छ ।
यसअघि निर्धारित समयमा सबै बिक्री नभएपछि समय थपिएको थियो । बैंकले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो ।
यसमध्ये पनि सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन पाएका हुन् ।
लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गरेको हो । यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।