काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंकले ई–ट्याग बिक्री सुरु गरेको छ। बैंकले आफ्ना विभिन्न शाखा मार्फत ई–ट्याग उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यो प्रणालीमार्फत सवारीधनीले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्।
सवारीसाधनमा ई–ट्यागको स्टिकर टाँसेपछि त्यसमा आबद्ध खाताबाट स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ। यसले टोल बुथमा हुने भिडभाड र लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समयसमेत बचत गर्ने बैंकले जनाएको छ।
ई–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै, बैंकको वेबसाइटमार्फत ई–ट्यागसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइनबाटै दर्ता प्रक्रिया पनि पूरा गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।



























