काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन २०८२/८३ ले बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवाक्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२४ प्रतिशत र ७६.५३ प्रतिशत रहने अनुमानले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान रहेको छ ।
गत आर्थिक वर्षमा बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरी बाली उत्पादन पनि ७.८ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा प्रमुख खाद्यान्न बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौ र फापर उत्पादन क्रमशः ०.४ प्रतिशत, ०.३ प्रतिशत, २.५ प्रतिशत, ०.३ प्रतिशत, १३.६ प्रतिशत र २.५ प्रतिशतले बढेको छ । साथै तरकारी तथा बागवानीको उत्पादन २.८ प्रतिशतले बढेको छ ।
पशुजन्य उत्पादन अन्तर्गत दुध उत्पादन ०.७ प्रतिशतले र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ भने अन्डा उत्पादन ८.३ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा बागमती प्रदेशका बैङ्क तथा वित्तीय संस्थाबाट ३.३ प्रतिशत कर्जा कृषिक्षेत्रमा प्रवाह भएको छ ।
यस्तै समीक्षा अवधिमा बागमती प्रदेशका अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४१.०८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ३७.४९ प्रतिशत थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.८१ प्रतिशत छ ।
प्रतिवेदनले समीक्षा अवधिमा नमुना छनोटमा परेका होटेलको औसत क्षमता उपयोग (अकुपेन्सी) ४७.९ प्रतिशत रहेको देखाएको छ । २०८२ कात्तिकदेखि होटेलको अकुपेन्सी क्रमशः सुधार देखिन्छ ।
समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ९.६ प्रतिशतले बढेको छ भने रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व १६.८ प्रतिशतले घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशतले र कर्जा प्रवाह ९.०७ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष मा प्रदेश सरकारले कुल ६७ अर्ब ४८ करोड रुपियाँ बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ६८.१८ प्रतिशत ४६ अर्ब खर्च भएको छ भने २०८३ असार मसान्तसम्म ३० अर्ब ६७ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।



























