वाणिज्य बैंकहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाए

काठमाडौँ । वाणिज्य बैंकहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाएका छन् । कात्तिकमा बैंकको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकामा मङ्सिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त हुनु तर कर्जा प्रवाह सो अनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरूले निक्षेपमा ब्याजदर घटाएका हुन् ।

२० वटा वाणिज्य बैंकमध्ये मङ्सिरका लागि नौ वटा वाणिज्य बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । एउटा बैंकले ब्याजदर बढाएको छ भने बाँकीको स्थिर छ । ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ ।

ब्याजदर घटाउने बैंकहरूमा नबिल बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक,  एनएमबी बैंक, ग्लोबल  आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक छन् । ब्याजदर स्थिर राख्नेमा नेपाल एसबिआई बैंक, नेपाल बैंक, सानिमा, इन्भेस्टमेष्ट मेगा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक छन् ।

मङ्सिरका लागि हिमालयन बैंकले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिने छ । यस्तै एभरेस्ट बैंकले छ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, नेपाल बैंकले ५.९५, सिद्धार्थ बैंकले छ, नेपाल एसबिआईले छ, सानिमा बैंकले ६.१५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत यथावत् राखेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर ५.८ प्रतिशतबाट बढाएर छ प्रतिशत बनाएको छ । नयाँ ब्याजदर अनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआइसी एसिया बनेको छ । एनआइसी बैंकले अधिकतम ६.७९ प्रतिशत ब्याज दिने छ । सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइन बैंकको ५.५० प्रतिशत रहेको छ ।