सरकारले ट्रेजरी बिल मार्फत सवा ३४ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले करिब सवा ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी  गर्दै ट्रेजरी  बिल मार्फत् ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो ।

जस अनुसार ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्र लगायत औजार मार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत सवा ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ८.९८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ९.८४ प्रतिशत र सबैभन्दा कम ७.७४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर त्रैमासिक रुपमा आन्तरिक ऋण उठाइरहेको छ ।

सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।