अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले आफ्नो सदस्य बैंकहरुलाई ‘एनएफआरएस–९’ प्रणालीमा आबद्ध प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

१६ वटा विकास बैंकहरुमध्ये अधिकांश विकास बैंकहरु ‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्युसन्स’ प्रणालीमा आबद्ध भएको एसोसिएसनले जनाएको छ । असार मसान्तसम्म सबै तयारी सक्ने एसोसिएसनले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

आगामी आर्थिक वर्षबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निक्षेप, कर्जा लगानी तथा वित्तीय सुरक्षण प्रणाली ‘एनएफआरएस–९’ लागू गर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सोहीअनुसार अधिकांश विकास बैंकहरुले सिस्टमका लागि सम्झौता गरिसकेको डेभलपमेन्ट बैंकर्स संघले जनाएको हो ।

‘एनएफआरएस–९’ लागू गर्नका लागि डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले यस अघि ‘ई एन्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरेको एसोसिएसनले जनाएको छ ।

ती सहजकर्ताले सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरूलाई २ पटकसम्म ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको समेत संघले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले २०८१ जेष्ठ २ गते ‘एनएफआरएस–९’ सम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ ।

२०८१ साउन १ गतेदेखि कार्यान्वयनमा जाने एनएफआरएस–९ वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ ।

‘एनएफआरएस–९’ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ ।

कर्जा चुक्ता नहुन सक्ने संभावना (प्रोव्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस् गिभन् डिफल्ट) र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ ।