नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक–फाइनान्सलाई कारवाही गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र फाइनान्सलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै ३ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही गरेको हो ।

कारवाही पर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । फाइनान्समा प्रोग्रेसिभ, गुडविल र गुहेश्वरी मर्चेन्ट रहेका छन् ।

यी मध्ये नारायणी डेभलपमेन्ट बैंकलाई नगद जरीवाना लगाएको छ भने अरु ५ लाई सचेत गराएको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

नारायणी डेभलपमेन्ट बैंकले कर्जा–निक्षेप अनुपात उल्लंंघन गरेपछि केन्द्रीय बैंकले २ लाख ४१ हजार ९२४ रुपैयाँ नगद जरीवाना गरेको छ ।

यस बैंकको गत आर्थिक वर्ष २०७९–८० को वैशाख महिनामा सीडी रेसियो ९० प्रतिशत नाघेपछि केन्द्रीय बैंकले कारवाही गरेको बताएको छ ।

साथै, अनिवार्य नगद मौज्दात नपुग भएकाले १२ हजार ८४६ रुपैयाँ नगद जरीवाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यता, मुक्तिनाथ विकास बैंकलाई व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिएर ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम पछि फिर्ता गरेको जानकारी बैंकले केन्द्रीय बैंकलाई गराएको थियो ।

तर, नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकलाई स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको भन्दै कारवाही गरेको हो ।

साथै, उक्त निजलाई दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाइएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

साथै, यही बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।

उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन केन्द्रीय बैंकले दिएको हो ।

प्रोग्रेसिभ फाइनान्सले महर्जन विजनेश एशोसियट्स प्रा.लि.लाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएकाले सचेत गराएको हो ।

पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले नसहित गराएको हो ।

गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएको जनाएको छ ।

त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको हो ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलाई केन्द्रीय बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं। ३ को उपबुँदा (४) मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९र८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएको जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृतलाइ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको ।