काठमाडौँ। रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ। नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ। मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो।
कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो।
कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५र७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो।
सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ।
इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ ।