काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।यो मध्ये १० प्रतिशत अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ ।
बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।