नेपालबाट बाहिरिने रेमिट्यान्स २८.४६ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक बर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालदेखि बाहिरीने रेमिट्यान्स २८.४६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब ७६ करोड ४२ लाख रूपियाँ रेमिट्यान्स बाहिरिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब ६९ करोड २७ लाख रूपियाँ बाहिरिएको छ । गत आवमा ११ अर्ब ९८ करोड २२ लाख रुपियाँ रेमिट्यान्स बाहिरीएको थियो ।

नेपालमा रेमिट्यान्स आप्रवाह उच्च हुने गर्छ । गत आर्थिक वर्षमा २३ खर्ब ६३ अर्ब १२ करोड ९९ लाख रूपियाँ रेमिट्यान्स आएको थियो । चालु आर्थिक वर्षको तीन महिना सात खर्ब तीन अर्ब ६९ करोड बाहिरीएको छ । सोही मुलुक अर्थात् नेपालबाट रेमिट्यान्स पनि बाहिरिन्छ ।

नेपालमा श्रम स्वीकृत लिएर काम गर्न आएका विदेशी कामदारले कमाएको पैसा आफ्नो देश पठाएका हुन् । उनीहरुले कमाएको पैसामध्ये ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउछन् । बाँकी रकम भने उनीहरुले यहाँ आवास लगायतका शीर्षकमा खर्च गर्नुपर्छ ।

नेपालमा  विशेषगरी चीन, लण्डन, अमेरिका, कोरिया, जापान र भारतबाट धेरै कामदार आउने गर्छन् । पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थिति बढ्दो छ ।

यसैगरी बिभिन्न पूर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् ।

अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, एलआईसी नेपाल, नेशनल इन्स्योरेन्स, दि ओरियन्ट इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स जस्ता कम्पनीमा विदेशी कर्मचारी छन् ।

यस्तै, डावर नेपाल, युनिलिवर नेपाल जस्ता मल्टीनेशनल कम्पनीमा पनि विदेशी कर्मचारी छन् । ९०० मेगावाटको अरुण तेस्रो, ९०० मेगावाटको अप्पर कर्णाली जस्ता जलविद्युत् परियोजनामा पनि भारतीय कर्मचारी तथा कामदार छन् ।

यस्तै, होङ्सी सिमेन्टमा चिनियाँ कामदार छन् । नेपाल स्थित बिभिन्न अन्तरराष्ट्रिय गैर सर सरकारी संस्था, दातृ निकाय, कुटनीतिक नियोग, दूतावासहरुमा पनि विदेशी कर्मचारी छन् ।

यसका अलावा नेपालका कम्पनी, उद्योग, परियोजनाले पनि विदेशबाट प्राविधिक तथा विज्ञ कामदार ल्याएर काम गरिरहेका छन् । उनीहरुले यहाँ कमाएको पैसा आफ्नो देश पठाउँछन् ।

यद्यपि, नेपालदेखि अनौपचारिक माध्यमबाट पनि रेमिट्यान्स बाहिरीने गरेको छ । बिशेषगरि नेपालबाट भारतमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स जाने गर्छ ।

किनकी, भारतका थुप्रै नागरिक नेपालमा आएर अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । सिमा क्षेत्रका अधिकांश उद्योगमा भारतीय कामदार छन् ।

उनीहरुले श्रम इजाजत पनि लिएका छैनन् । त्यस्ता कामदारले यहाँ कमाएको पैसा औपचारिक माध्यमबाट पठाउन पाउदैनन् । उनीहरुले नगदकै रुपमा आफ्नो देश पैसा पठाउने गर्छन् । त्यसरी पनि नेपालबाट भारत जाने रेमिट्यान्स धेरै भएको जानकारहरु बताउँछन् ।