मिठाईको लेबलमा उत्पादनदेखि मूल्यसम्मको विवरण अनिवार्य गर्न विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्रीका लागि राखिएका मिठाईमा उत्पादनसम्बन्धी सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गर्न मिठाई व्यवसायीलाई निर्देशन दिएको छ ।

विभागले मिठाई व्यवसायीका नाममा सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि  मिठाईको  सोकेस  वा काउन्टरमा ग्राहकले देख्ने गरी लेबल राख्न निर्देशन दिएको हो ।

निर्देशनअनुसार मिठाईको नाम, मुख्य कच्चा पदार्थको सम्मिश्रण, तयार गर्न प्रयोग गरिएको तेल वा घिउको प्रकार तथा नाम, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

विभागले यसअघि २०८३ असोज ३० गते मिठाई व्यवसायीका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाको कार्यान्वयनका लागि पुनः जानकारी गराउँदै होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायतका व्यवसायीलाई निर्देशन पालना गर्न निर्देशन गरिएको हो ।

विभाग तथा मातहतका कार्यालयबाट नियमित निरीक्षण तथा अनुगमनका क्रममा निर्देशन कार्यान्वयन नभएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

उपभोक्ताले आफूले खरिद गर्ने मिठाईमा प्रयोग भएका सामग्री, तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्यबारे जानकारी पाउने व्यवस्था गर्न विभागले यस्तो निर्देशन दिएको हो ।