काठमाडौं । भोलि सोमबार मंसिर ४ गतेदेखि हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ ।
यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यसबेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । यद्यपि, कम्पनीले भने तिहार पर्व परेका कारण मिति सारिएको दाबी गरेको थियो ।
हिमालयन रिइन्स्योरेन्सले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०५ ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।
यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।