काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ८.९०% ले थोरै हो ।
गत वर्ष यसले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो ।
यसको वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
अहिले उक्त आम्दानी घटेर ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।त्यसैगरी, वित्तीय आम्दानी पनि १ अर्ब ९० करोडबाट घटेर १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ५ करोड ७२ लाखबाट बढेर ३० करोड ६६ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।
टेलिकमको रिजर्भ कोषमा ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ भने ५३४ रुपैयाँ ८ पैसा रहेको छ ।