अब असामान्य अवस्थामा बाहेक अरु समय ब्याजदरमा भद्र सहमति हुँदैन: अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघले अब असामान्य अवस्थामा बाहेक अरु समय ब्याजदरमा भद्र सहमति नहुने बताएको छ ।

संघका अध्यक्ष सुनिल केसीले पक्रकारहरुसँगको छलफल कार्याक्रममा असामान्य अवस्थामा बाहेक यसमा भद्र सहमति नहुने बताएका हुन् ।

अध्यक्ष केसीले वाणिज्य बैंकका सबै प्रमुख कार्यकारी अधिकृत बसेर ब्याजदरमा रहेको भद्र सहमति हटाउने निर्णय गरेको बताए ।

‘सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत बसेर ब्याजदरमा रहेको भद्र सहमति हटाउने निर्णय गरेका हौं, त्यसैले यो सहमति सजिलै भंग हुँदैन’ उनले भने । उनले असामान्य अवस्था आयो भने त्यहिअनुसार निर्णय गर्ने जनाएको छ ।

साउनदेखि वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेका छन् । ब्याजदरलाई खुला राख्न चौतर्फी दबाब आएसँगै उनीहरुले ब्याजदर कार्टेलिङको अन्त्य गरेका हुन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर कार्टेलिङको अन्त्य गर्न यहि अवस्था उपयुक्त भएको अध्यक्ष केसीले जानकारी दिए ।