काठमाडौं । बेलायतको बहुराष्ट्रिय बैंक ‘स्टान्डर्ड चार्टर्ड पीएलसी’ ले १ अर्ब डलरको सेयर ‘बाई ब्याक’ गर्ने घोषणा गरेको छ ।
बैंकले गत वर्षको चौथो त्रैमासमा विश्लेषकहरुको अनुमान भन्दा बढी नाफा कमाएको रिपोर्ट सार्वजनिक गर्दै सेयरधनीहरुलाई ‘बाई ब्याक’ को रुपमा थप प्रतिफल फिर्ता गर्ने निर्णय गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।
करिब ९ वर्षअघि स्टान्डर्ड चार्टर्डमा सामेल भएका प्रमुख कार्यकारी अधिकृत बिल विन्टर्सले लगानीकर्ताको प्रतिफल बढाउने र गत वर्ष १५% भन्दा बढीले घटेको सेयर भाउलाई उकास्ने उपायहरु खोजिरहेका छन् । चार्टर्डको हालको सेयर भाउमा कत्ति पनि खुसी नभएको विन्टर्सले बताएका छन् ।
स्टान्डर्ड चार्टर्डको कर अघिको समायोजित नाफा डिसेम्बर त्रैमासमा ६३% बढेर १.०६ अर्ब डलर पुगेको छ । विश्लेषकहरुले भने नाफा ९८ करोड ९६ लाख हुने अनुमान गरेका थिए ।
सेयर बाई ब्याकको घोषणापछि शुक्रबारको सुरुवाति कारोबारमा स्टान्डर्ड चार्टर्डको सेयर भाउ ८.१६% ले बढिसकेको छ ।
एसिया, अफ्रिका र मध्यपूर्वका द्रुत गतिमा वृद्धि भइरहेका बजारहरुमा बलियो पकड जमाएपछि चार्टर्डको सेयरले हालैका महिनाहरुमा खराब प्रदर्शन गरिरहेको छ । हाल यसको सेयर भाउ सन् २०१५ मा बिल विन्टर्स सामेल हुँदाको समयमा भन्दा झण्डै ४०% तल रहेको छ ।