इटालियन टु–ह्विलर ब्रान्ड इटालजेट भारतीय बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बरमा तीनवटा प्रिमियम स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो ।
भारतमा इटालजेटका उत्पादन बिक्री तथा वितरणका लागि मोटोहाउस इन्डियाले साझेदारी गरेको छ । कम्पनीले डिसेम्बर ४ र ५ मा आयोजना हुने इन्डिया बाइक विक २०२६ मा ब्रान्डसहित तीनवटा स्कुटर सार्वजनिक गर्ने जनाएको छ ।
भारतमा ल्याइने स्कुटरमा ड्रागस्टर ३००, ड्रागस्टर ४५९ र ड्रागस्टर ७०० रहेका छन् । यी तीनवटै मोडल महाराष्ट्रको कोल्हापुरस्थित मोटोहाउसको उत्पादन केन्द्रमा एसेम्बल गरिनेछन् । ग्राहकलाई स्कुटर हस्तान्तरण भने सन् २०२७ को दोस्रो त्रैमासिकदेखि सुरु गर्ने कम्पनीको योजना छ ।
इटालजेटका यी स्कुटर आफ्नो फरक डिजाइन, खुला ट्रेलिस फ्रेम र विशिष्ट इन्जिनियरिङका कारण परिचित छन् । कम्पनीले भारतका प्रमुख सात सहरमा छुट्टै इटालजेट एक्सपिरियन्स सेन्टर स्थापना गर्ने योजना बनाएको छ ।
इटालजेट यसअघि नै नेपाल भित्रिसकेको ब्रान्ड हो । यस ब्रान्डका स्कटुरलाई क्रसफायर मोटरसाइलको आधिकारिक वितरक समेत रहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले बिक्री गर्दै आएको छ ।



























