ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी

काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ईमास७ ले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको हो ।

मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशत वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ ।

यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पु¥याउने लक्ष्य राखेको छ ।

जगदम्बा मोटर्सका अनुसार, नेपालमा प्रोटोन ईमास७ ले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर कम्पनी निकै उत्साहित रहेको छ ।

हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभीको अनुभव लिइरहेका छन् । यस गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् ।

हाल ईमास७ खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् । यस उत्साहलाई अझ बढाउँदै जगदम्बा मोटर्सले निकट भविष्यमै अर्को नयाँ मोडल ईमास७ भित्र्याउने तयारी गरेको हो ।

सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ईमास५ शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखेर विकास गरिएको मोडल हो । यो गाडीले प्रोटोनको अत्याधुनिक विद्युतीय सवारी प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ व्यापक बनाउने अपेक्षा गरिएको छ ।

प्रोटोनका अतिरिक्त, जगदम्बा मोटर्स नेपालका लागि टिभिएस बाइक, चेरी वाण्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमइभी विद्युतीय सवारीको आधिकारिक वितरक पनि हो ।

विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जगदम्बा मोटर्स नेपालको द्रुत गतिमा विस्तार हुँदै गएको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा थप आक्रमक बनिरहेको छ ।