सीएफमोटोले नयाँ रेट्रो लुकसहितको स्कुटर सीएफमोटो १५० औरा सार्वजनिक

सीएफमोटोले नयाँ रेट्रो लुकसहितको स्कुटर सीएफमोटो १५० औरा सार्वजनिक गरेको छ । सो स्कुटरमा १९६० को दशकको डिजाइन शैली प्रस्तुत गरेको छ । यसको डिजाइन रेट्रो भए पनि यसमा अत्याधुनिक र प्रिमियम प्रविधि जडान गरिएको छ।

१५० औरा स्कुटरको डिजाइन गोलाकार एलईडी हेडल्याम्प, समतल सिट र घुमाउरो बडी प्यानल सहित ल्याम्ब्रेटा भी२०० वा कीवे सिक्सटीज ३००आईसँग मिल्दोजुल्दो देखिन्छ। स्कुटरले आफ्नो विगतको झल्को दिने लुकलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै आकर्षक उपस्थिति दिन सफल भएको छ।

यसमा १५० सीसीको लिक्विड–कुल्ड, सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १५.८ बीएचपीको पावर र १४.३ एनएमको टर्क उत्पादन गर्छ। स्कुटरको कुल तौल १३२ किलोग्राम रहेको छ भने यसमा १२ इन्चको अलोय ह्विल दिइएको छ ।

ब्रेकिङको लागि अगाडि र पछाडि दुवैमा डिस्क ब्रेक राखिएको छ, जसमा ड्युअल च्यानल एबीएस सुविधा पनि उपलब्ध छ।

पुरानो लुक भएको भए पनि यसमा ६.२ इन्चको टीएफटी डिजिटल डिस्प्ले, टायर प्रेसर मोनिटरिङ सिस्टम, एनएफसी प्रविधिमार्फत किलेस इग्निशन र फास्ट चार्जिङ पोर्टजस्ता प्रिमियम सुविधा उपलब्ध गराएको छ ।

साथै, यसले मोटोप्ले प्लेटफर्म प्रयोग गरेर नेटिभ एक्सन क्यामेरा जडान र फुल(स्क्रिन नेभिगेसन जस्ता स्मार्ट फिचर पनि सपोर्ट गर्छ।

सो स्कुटर चीनमा ११ हजार ९८० युआनमा लन्च गरिएको छ। सो स्कुटर नेपालमा समेत भविष्यमा उपलब्ध हुन सक्छ ।