१७५ सीसी इन्जिनमा आउँदै अप्रिलिया एसआर, अर्को महिना लन्च हुने

अप्रिलियाको प्रिमियम स्कुटर एसआर अब नयाँ र शक्तिशाली इन्जिनमा आउने भएको छ । हाल १६० सीसी इन्जिनमा उपलब्ध यस स्कुटरमा अप्रिलियाले १७५ सीसी क्षमताको नयाँ इन्जिन दिन लागेको हो । अर्को महिना लन्च हुने तयारीमा रहेको यस नयाँ स्कुटरले हालको एसआर १६० लाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।

एसआर १७५ मा १७५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ७ हजार २०० आरपीएममा १२.७४ बीएचपी पावर र ६ हजार आरपीएममा १४.१४ एनएम टर्क जेनेरेट गर्दछ । नयाँ स्कुटरमा एसआर १६० जस्तै ब्लक प्रयोग हुने भएपछि बोर भने ठूलो हुनेछ ।

अगाडि टेलिस्कोपिक फोर्क र पछाडि सिंगल शक एब्जर्वर जडान हुने यस स्कुटरमा १४ इन्चको अलोय ह्विल तथा अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग हुनेछ ।

स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र सिंगल च्यानल एबीएस र आरएस ४५० बाट लिइएको नयाँ रंगको टीएफटी डिस्प्ले उपलब्ध हुनेछ । साथै, यसको मूल्य एसआर १६० कै हाराहारीमा तय गरिने अनुमान गरिएको छ ।  अप्रिलियाले  एसआर १६०  लाई  भारतमा १ लाख ३२ हजार  भारुमा बिक्री गर्दै आएको छ ।

अप्रिलिया  एसआर नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम स्कुटर हो । डेल्टा अटोकर्पले बिक्री गर्दै आएको एसआर १६० को मूल्य नेपाली बजारमा ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।