कृषि कर्जाको आवेदन सात दिनभित्र स्वीकृत नभए राष्ट्र बैंकले कारवाही गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि प्रयोजनका लागी बैंकले सानो रकमको कर्जा स्वीकृती प्रकृया सात दिनभित्र नगरे उजुरी गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले २० लाख रूपैयाँसम्मको कृषि कर्जाको निवेदन सात दिनभित्र अनिवार्य स्वीकृत वा अस्वीकृत गर्नुपर्ने प्रावधान रहेको बारे सर्वसाधारणमा जानकारी गराएको छ।

बैंकले कर्जाको निवेदन अस्वीकृत गरेको अवस्थामा अस्वीकृत गर्नुको कारणबारे स्पष्ट खुलाएर लिखितरूपमा नै निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान छ।

ऋण सात दिनभित्र स्वीकृत नभएर सोको लिखित जानकारी प्राप्त नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाविरूद्ध कारवाहीका लागी नेपाल राष्ट्र बैंक समक्ष https://gunaso.nrb.org.np/मार्फत् उजुरी दिन समेत राष्ट्र बैंकले सर्वसाधारणसँग अनुरोध गरेको छ।

राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपंक्षी र मत्स्यपालन जस्ता कार्यका लागी २० लाख रूपैयाँसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेती योग्य जमिनलाई समेत धितोका रुपमा स्वीकार्न सक्ने प्रावधान रहेको समेत जनाएको छ।

कृषि कर्जाका लागी खेती योग्य जमिन समेत धितोको रुपमा बैंक तथा वित्तीय संस्थाले अस्वीकार गर्ने र घडेरी धितोमा राखेर कृषि कर्जा माग्दा समेत निक्कै सकस भोग्नु परेको व्यापक गुनासो आएपछि राष्ट्र बैंकले कृषि कर्जा सात कार्य दिनभित्र स्वीकृत गर्न बैंकहरूलाई निर्देशन दिइसकेको छ।