हुलाक बचत बैङ्कको खाता अब राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्ने

काठमाडौँ, । हुलाक बचत बैङ्कमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्ने भएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैङ्कमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्न लागेको हो ।

हस्तान्तरणका लागि दुवै संस्थाबिच सम्झौता भएको छ । सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीको ऋण लगानीका खाता विभागले बैङ्कका विभिन्न शाखा कार्यालय मार्फत असार महिनाभित्र विवरण हस्तान्तरण गरिने बताइएको छ ।

हुलाक बचत बैङ्कका निक्षेपकर्ताले रावा बैङ्कको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता अद्यावधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ देखि गर्न सक्ने छन् ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आव २०३२/३३ देखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आव २०६०/६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो ।