ग्वाङझाउ अटो शो नोभेम्बर २७ देखि, ११०६ गाडी प्रदर्शनीमा राखिने

काठमाडौं । चीनको चर्चित अटो एक्सपो ‘ग्वाङझाउ अटो शो २०२६’ आगामी नोभेम्बर २७ देखि सुरु हुने भएको छ । डिसेम्बर ६ सम्म सञ्चालन हुने २४औं संस्करणको प्रदर्शनीमा कुल १ हजार १०६ वटा सवारीसाधन राखिने आयोजकले जनाएको छ ।

चीनको ग्वाङझाउस्थित चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर कम्प्लेक्समा आयोजना हुने प्रदर्शनीमा ७०७ वटा न्यू इनर्जी भेइकल(एनईभी) समावेश हुनेछन् । यो कुल प्रदर्शनीमा राखिने सवारीसाधनको ६३.९ प्रतिशत हो । गत वर्षको प्रदर्शनीमा यस्तो हिस्सा ५८ प्रतिशत थियो ।

यस वर्षको प्रदर्शनीमा ११५ वटा नयाँ मोडल सार्वजनिक गरिने आयोजकको भनाई छ । करिब २ लाख २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिने प्रदर्शनीमा विद्युतीय सवारी, हाइब्रिड प्रविधि तथा स्मार्ट मोबिलिटीलाई विशेष प्राथमिकता दिइनेछ ।

प्रदर्शनीमा बीवाईडी, जीली, चेरी, चांगान, ग्रेटवाल मोटर्स, नियो, एक्सपेङ, लिपमोटर, जिकर, साओमी अटोलगायत चिनियाँ ब्रान्ड सहभागी हुनेछन् । त्यस्तै, बीएमडब्ल्यु, मर्सिडिज बेन्ज, फक्सवागन, अडी, पोर्श, टोयोटा, होन्डा, निसान, हुन्डाई र फोर्डजस्ता अन्तर्राष्ट्रिय ब्रान्डले पनि आफ्ना नयाँ उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

यसैगरी, उच्च भोल्टेज फास्ट चार्जिङ प्लेटफर्म, एआईमा आधारित स्मार्ट ककपिट तथा सहरभित्र प्रयोग गर्न सकिने नेभिगेसन असिस्टेड ड्राइभिङ प्रविधि पनि प्रदर्शनीका प्रमुख आकर्षण हुनेछन् ।

बीवाईडीले नयाँ पुस्ताको हान सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ भने लिपमोटरले अपडेटेड लाफा ५ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । नियोले पनि ईएस८ को विशेष संस्करण प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

सन् २००३ देखि हरेक वर्ष आयोजना हुँदै आएको ग्वाङझाउ अटो शोलाई चीनको अटोमोबाइल उद्योगको नयाँ प्रविधि, उत्पादन र आगामी बजार प्रवृत्ति बुझ्ने महत्वपूर्ण प्रदर्शनीका रूपमा लिइन्छ ।