काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मिति २०८३ भाद्र १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पु¥याएको छ ।
उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाल सरकारलाई प्रभु बैंक लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मिति २०८३/०५/१६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माज्ले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २,११,११,१११/— (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नु भयो ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष श्री किशोर जंङ्ग कार्की, संचालक श्री राजु पौडेल तथा संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछ ।































