काठमाडौं । एमजीले आफ्नो नयाँ सेडान एमजी ०७ आधिकारिक रूपमा लन्च गरेको छ । चीनको चेङ्दु अटो शोमार्फत कम्पनीले एजमी ०७ को प्लग–इन हाइब्रिड र पूर्ण विद्युतीय भेरियन्टको बिक्री सुरु गरेको हो । गाडीको सुरुवाती मूल्य १६ हजार अमेरिकी डलर निर्धारण गरिएको छ ।
नयाँ एमजी ०७ मा आकर्षक स्टार–रिङ लाइट, फ्रेमलेस ढोका, १६८ लिटरको फ्रन्ट ट्रंक र ५–स्टेज एडजस्टेबल इलेक्ट्रिक स्पोइलर जस्ता बाह्य विशेषताहरू रहेका छन् ।
गाडीको भित्री भागमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, ८२९५पी चिपसेट, २१ वटा स्पिकरको अडियो सिस्टम र मसाज तथा तातो–चिसो हुने सुविधायुक्त आरामदायी सिटहरू राखिएका छन् । आधुनिक प्रविधिलाई ध्यानमा राख्दै यसमा लिडार र मोमेन्टा आर७ मा आधारित एडास फिचर समेत समावेश गरिएको छ ।
एजमीले यस कारको ईभी भेरियन्टलाई ८०० भोल्टको प्लेटफर्ममा तयार पारेको छ भने यसले एक पटकको फुल चार्जमा ६१० देखि ८४५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
उता हाइब्रिड मोडलमा १.५ लिटरको इन्जिन र इलेक्ट्रिक मोटरको संयोजन छ, जसले ब्याट्री र इन्धन दुवैको पूर्ण प्रयोगमा कुल १ हजार ७४५ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ ।यस ईभीमा एमजीले पहलिोपटक आधुनिक सेमी–सलिड ब्याट्री प्रविधि प्रयोग गरेको छ ।































