झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने  (साउन १८)  आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाइरहेको छ । यो आईपीओमा वैदेशिक रोगजारीमा गएका नेपालीले आजसम्म आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले  प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिएको छ ।

आयोजना प्रभावितका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ताका आईपीओमा​ झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ स्थित आयोजनाको १०० मिटर वरपर बस्नेले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही आयोजनाको १०० मिटर वरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन् ।

प्रभावितले आयोजना स्थान शिवसताक्षी वडा नं. ४, हिमालयन बैंकका शाखाहरू दूधे, दमक, सुरुंगाका साथै माछापुच्छ्रे बैंकको शाखा सुरुंगा, दमकमा पनि दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । ती फाराम सोही स्थानमा बुझाउन सकिनेछ ।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।