लघुवित्त संस्थाहरुले साउन १ गतेदेखि आधार दर गणना गरी ब्याजदर निर्धारण गर्नुपर्ने

काठमाडौं । लघुवित्त संस्थाहरुले साउन १ गतेदेखि आधार दर गणना गरेर ब्याजदर निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा लघुवित्तहरुले आफ्नो पछिल्लो ३ महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नु पर्ने पनि राष्ट्र बैंकले जनाएको छ । लघुवित्तहरुले हाल ग्राहकसँग अधिकतम १५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।

लघुवित्तहरुले वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गर्दा हुन आउने दरभन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न नपाउने पनि राष्ट्र बैंकको सर्कुलरमा उल्लेख छ ।

यस्तै, लघुवित्तहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गर्दा हुन आउने ब्याजदर र वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमा भित्र रहेर ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ ।

लघुवित्तहरुले मासिकरुपमा आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । साथै, आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।

यस्तै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनालरहर्जाना ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नु पर्नेछ ।