काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाएको छ ।
यसअघि दोस्रो चरणमा वैकल्पिक सहित आठ सय लैजाने भन्दै आवेदन माग गरिएकोमा हाल थप गरेर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको जनाइएको छ ।
वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ ।
विभागका अनुसार आवेदन माग गर्दा छनोट हुुने पाँच सय उम्मेदवार र तीन सय वैकल्पिक गरी आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हाल माग गरिएको आवेदनबाटै थप गरिएको सङ्ख्या छनोट गरिने जानकारी दिनुुभयो ।
विभागका अनुसार वैकल्पिकसहित आठ सय जनाका लागि गरिएको आवेदनमा हालसम्म तीन हजारभन्दा बढीको आवेदन आइसकेको छ । तिनै आवेदकमध्येबाट दुुई हजार जना छनोट गरिने छ । आवेदन दिने समय साउन ११ गते शुुव्रmबारसम्म छ ।
यस पटक आवेदन माग गर्दा सुुरु चरणबाट नै पारदर्शी तथा निष्पक्ष तरिकाले भाषा परीक्षा गरिएका कारण छनोटमा कुनै विवाद नहुने दाबी विभागका महानिर्देशक घिमिरेले गर्नुुभयो ।
विभागका अनुसार यस पटक पहिलो चरणमा नै छनोट भएका अधिकांश युवा इजरायल जाने अवसर पाउने छन् ।
विभागका अनुसार हाल जिटुजी प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे इजरायलले चासो दिएका कारण छनोटलाई पारदर्शी र निष्पक्ष गरिएको छ ।
पछिल्लो समय भारत तथा बङ्गलादेशबाट समेत श्रमिक लैजाने तयारी गरिरहेको इजरायलले नेपालबाट तत्काल श्रमिक लैजान आवेदन माग गरेको जनाइएको छ ।
इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारी सहित नयाँका लागि आवेदन र पुरानाका लागि भिसा तथा करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ ।
आवेदकले अङ्ग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिने फाउन्डेसन इङ्ग्लिस टेस्ट (एफटिई) को कम्तीमा ए–२ लेभलको प्रमाणपत्र अपलोड गर्न सक्ने छन् ।
नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो । दुुई देशबिचको सम्झौता अनुसार इजरायलमा केयरगिभरमा एक हजार १५० भन्दा बढीले डेढ वर्षदेखि काम गर्दै आएका छन् ।






























