वैदेशिक रोजगारी: खर्च उठाउन चार महिनाको तलब

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत साढे तीन महिनादेखि साढे चार महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्चसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

अध्ययन अनुसार श्रमिकले भर्ना प्रक्रियामा गरेको खर्च उठाउन औसतमा साढे तीन महिनादेखि साढे चार महिनासम्मको पारिश्रमिक लाग्ने देखाएको हो ।

अध्ययनले दर्ता नभएका बिचौलियामार्फत वैदेशिक श्रम बजारमा पुगेका श्रमिकले सबैभन्दा बढी खर्च बेहोर्नु परेको र यसले श्रमिकलाई काम सुरु गर्नुअघि नै ऋणको भारी बोकाउने गरेको औँल्याएको छ ।

अध्ययन अनुसार विदेशमा रोजगारी सुनिश्चित गर्नुअघि करिब दुई तिहाइ नेपाली श्रमिकले भर्ना तथा त्यससँग सम्बन्धित खर्च आफैँले बेहोर्नु परेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले सर्वेक्षणले श्रमिकको भर्नालागतका कारण श्रमिकमाथि पर्ने गरेको आर्थिक भारको स्पष्ट पहिचान गरेको बताउनुभयो । “अब निष्पक्ष तथा पारदर्शी भर्ती प्रणालीमार्फत लागत घटाउने रणनीति बनाउन यसले सहयोग पुर्‍याउने छ,” उहाँले भन्नुभयो ।

गन्तव्य मुलुकसँगको भर्ना प्रक्रियामा पारदर्शिता, द्विपक्षीय सहकार्य विस्तार तथा श्रमिकलाई पर्याप्त सूचना र गुनासो सुनुवाइको पहुँच बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

आइएलओका अनुसार सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले वैदेशिक श्रम आप्रवासनसम्बन्धी नीति निर्माण, भर्ती लागत घटाउने उपाय र श्रमिकको अधिकार संरक्षणका लागि आधार उपलब्ध गराउने छ ।

अध्ययनले वैदेशिक रोजगारी लाखौँ नेपालीको आयआर्जनको माध्यम बनेको अवस्थामा विदेश जानुअघि नै श्रमिकले बेहोर्नुपर्ने आर्थिक भार घटाउनु चुनौतीका रूपमा देखाएको छ ।