आरोहीको शव हिमालमै छोडेर आउन नपाइने

काठमाडौँ । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ ।

नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो ।

पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरोहण सम्बन्धी नियमावलीमै भएको व्यवस्था अनुसार सम्बन्धित एजेन्सीलाई हराएका आरोहीको खोजी, उद्धार तथा शव ल्याउन अब आउने सिजनदेखि आरोहण कम्पनीले कमिटमेन्ट पत्र (प्रतिबद्धतापत्र) पेस गर्नुपर्ने छ ।”

आरोहण कम्पनीले विमागमा सफल आरोहणको दाबी गर्दै प्रमाणपत्र लिन आउने समयमा उक्त कम्पनी मार्फत आरोहणमा गएका मृतक आरोहीको शव उद्धार गर्ने तथा हराएका आरोहीको शव खोजीका लागि प्रतिबद्धतापत्रसहित पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा दुई जना नेपाली भरियाले ज्यान गुमाएका छन् भने पाँच जना बेपत्ता छन् । बेपत्ता पाँच जना भरिया शेर्पामध्ये तीन जना खुम्बु आइसफल क्षेत्रमा र दुई साउथ समिटबाट बेपत्ता भएका हुन् ।

त्यसै गरी सगरमाथा आरोहणका क्रममा अमेरिका, मलेसिया, मालडोभा, चीन, भारत, अस्ट्रेलिया र क्यानडाका एक÷एक जना आरोहीले गुमाएका छन् । सगरमाथा आरोहणकै क्रममा मलेसिया, सिङ्गापुर, हङ्गेरीका एकरएक जना आरोही बेपत्ता छन् ।

त्यस्तै सगरमाथाबाहेक अन्नपूर्ण र कञ्चनजङ्घा हिमालमा एकरएक जना विदेशी नागरिकको मृत्यु भएको छ । कञ्चनजङ्घामा ज्यान गुमाउने जर्मनीका नागरिक हुन् भने अन्नपूर्णमा आयरल्यान्डका नागरिकले ज्यान गुमाएका हुन् ।