काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । नयाँ लाइसेन्स वितरण प्रक्रियामा व्यापक चलखेल भएको भन्ने आवाज बुलन्द हुन थालेपछि लाइसेन्स रोक्ने निर्णयमा सरकार पुगेको हो ।
नयाँ लाइसेन्सका विषयमा संसदमा पनि चर्को आवाज उठ्न थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले यसका बारेमा पछिल्लो समय संसदमा बेस्सरी आवाज उठाएको थियोा । नयाँ स्टकका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो ।
मुलुकका ठूला घरनाहरुले स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन दिएका थिए । यसमा चर्को कर्पोरेट वार चलेको थियो । सोही कारण राजनीतिक लबिङ पनि चर्को भएको थियो । यही परिदृश्यमा नयाँ लाइसेन्स तत्कालका लागि रोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा धेरै प्रश्न उठ्न थालेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
अब थप अध्ययन गरेरमात्र नयाँ लाइसेन्स वितरण प्रक्रिया अघि बढ्नेछ । मन्त्रिपरिषद्को निर्देशनसम्बन्धी पत्र अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्डमा भने पुगिसकेको छैन । सम्भवतः आज शुक्रबार नै पत्र पुग्ने स्रोतको भनाई छ । व्यापारिक घरनाहरुबीच चलेको झगडाले अन्ततः लाइसेन्स रोक्ने निर्णय भएको हो ।
यसमा अरबौंको खेल भएको भन्दै पछिल्ला दिनहरुमा सदनमा लगातारजस्तो आवजा उठ्न थालेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि अरबौंको खेल भएको भन्दै विरोध गरेका थिए । नयाँ स्टक एक्सेचन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए।
यी ३ मध्ये एउटालाई लाइसेन्स दिने धितोपत्र बोर्डले बताउँदै आएको थियो । सरकारको यस निर्णयसँगै अब नयाँ स्टक आउने प्रक्रिया लम्बिएको छ ।