काठमाडौं । बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौँ बैठक सुरु हुँदैछ । विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनामा लगानी गर्ने बैठकको मुख्य एजेन्डा छ ।
ऊर्जा मन्त्रालयका अनुसार बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी ३ आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुन लागेको हो । जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ ।
यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबरको बिजुली नेपालले बंगलादेशमा बेच्ने सहमति भएको थियो ।
जस अनुरूप गत फागुनमा भारतको राजस्थानमा भएको १० औँ नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालको ५० मेगावट बिजुली बंगलादेशसम्म निर्यात गर्न दिन भारतीय पक्ष सहमत भएको थियो ।
सोहीअनुरूप लिखु–४ को बिजुली बेच्न भारतसमक्ष नेपाल सरकारले प्रस्ताव गरेको थियो । तर, यसमा भारतले स्वीकृति भने दिइसकेको छैन । नेपाल–बंगलादेश बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रधानमन्त्री शेख हसिनासँग भेट गरेर विद्युत् व्यापारका बारेमा छलफल गरेका थिए ।