अल्वाको गोलमा बार्सिलोनाको जित

घरेलु मैदानमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । घरेलु टोली बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनाविरुद्ध ७६ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निक्कै संघर्ष गर्नुपरेको थियो ।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको २७औं मिनेटमा नै पाहुना टोली ओसासुना १० खेलाडीमा समेटिन पुगेको थियो ।

पेड्रीमाथि अनावश्यक फउल गरेपछि जर्ज हररान्डो सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेको थियो ।

तर, त्यसको फाइदा लिन बार्सिलोनाले अन्तिम समय नै कुर्नुपर्यो । ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

७६औं मिनेटमा एलेक्स बाल्डेको स्थानमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्को खेलमा स्पान्योललाई हराउन सके बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको च्याम्पियन बन्नेछ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक पुगेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अघि छ । पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा छ ।