skip this prime bank skip

अर्थतन्त्रको वृद्धिदर सुस्त

काठमाडौँ । विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध, मूल्य वृद्धि र विभिन्न आन्तरिक कारणले मुलुकको अर्थतन्त्रमा सुस्त वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार उपभोक्ता मूल्यमा नेपालको वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुने अनुमान छ ।

चालु बजेटको लक्ष्यको तुलनामा यो अनुमान अत्यन्त कम हो । सरकारले चालु वर्षमा ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्रमा गत आवको तुलनामा पाँच खर्ब ३० अर्ब बराबरको वृद्धि हुनेछ । यस्तो वृद्धिसँगै अर्थतन्त्रको कुल आकार ५३ खर्ब ८१ अर्ब हुने देखिन्छ । गत आवमा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब आठ करोड रुपियाँ पुग्ने अनुमान गरिएको थियो ।

आधारभूत मूल्यमा भने अर्थतन्त्रमा २.१६ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यसअनुसार मुलुकको अर्थतन्त्रको आकार ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपियाँ पुग्ने देखिन्छ ।

चालु आ.व.का नौ महिनासम्म उपलब्ध आर्थिक सूचकलाई आधार मानेर कार्यालयले अर्थतन्त्रको अनुमान गरेको हो । बाँकी तीन महिनासम्म अर्थतन्त्र सामान्य नै रहने अनुमानका आधारमा राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरिएको कार्यालयले प्रस्ट पारेको छ ।

चालु आ.व.मा वस्तु तथा सेवाको निर्यात कुल अर्थतन्त्रको तुलनामा ७।१६ प्रतिशत अर्थात् तीन खर्ब ८५ अर्ब ११ अर्ब पुग्ने अनुमान छ ।

त्यस्तै वस्तु तथा सेवाको आयात अर्थतन्त्रको ३६.५ प्रतिशत अर्थात् १९ खर्ब ६४ अर्ब ३३ करोड पुग्ने अनुमान गरिएको छ । कुल राष्ट्रिय बचत भने ३१.६६ प्रतिशत पुग्ने अनुमान कार्यालयको छ । त्यस्तै चालु आवमा १२ खर्ब ३१ अर्ब ७३ करोड रुपियाँ बराबरको विपे्रषण भित्रने अनुमान गरिएको छ ।

कृषि क्षेत्रको योगदान बढ्ने

चालु आव कृषि क्षेत्रको योगदान बढ्ने देखिएको छ । तथ्याङ्क कार्यालयका अनुसार कृषि क्षेत्रअन्तर्गत गणना गरिने कृषि, वन तथा मत्स्य क्षेत्रमा २.७३ प्रतिशतको वृद्धि आई अर्थतन्त्रमा यसको हिस्सा २४.१२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

गत आवमा यो क्षेत्रको योगदान २३.९५ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । कृषि क्षेत्रपछि अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिने क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको हुने देखिएको छ । यस क्षेत्रको हिस्सा १५।३९ प्रतिशत पुग्ने अनुमान छ ।

त्यसपछि घरजग्गा कारोबार सेवाको ८.३७ प्रतिशत, शिक्षाको ८.२२, सार्वजनिक प्रशासन तथा रक्षाको ८.१५ प्रतिशत, वित्तीय मध्यस्थ्ताको ७.३७ प्रतिशत योगदान रहने अनुमान छ ।

यातायात तथा भण्डारण क्षेत्रको ६.७९ प्रतिशत, निर्माण क्षेत्रको ५.५२ प्रतिशत, उद्योग क्षेत्रको ५.३२ प्रतिशत, आवास तथा भोजन सेवाको १.९८ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको १.९७ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यको १.९२ प्रतिशत र विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवाको १.६४ प्रतिशत योगदान रहने अनुमान छ । यसबाहेकका क्षेत्रको योगदान भने १ प्रतिशतभन्दा कम नै रहेको छ ।

क्षेत्रगत वृद्धिदरको हिसाबले चालु आवमा विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवाको सबैभन्दा धेरै अर्थात् १९.३६ प्रतिशतको वृद्धि हुने देखिएको छ । त्यसपछि आवास तथा भोजन सेवाको १८.५६ प्रतिशत वृद्धिदर हुने देखिएको छ ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा, निर्माण र उद्योग क्षेत्रको वृद्धिदर भने नकारात्मक हुने अनुमान छ ।

आम्दानीमा सामान्य सुधार

चालु आवमा नेपालीको आयमा सामान्य सुधार हुने देखिएको छ । चालु आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ डलर अर्थात् एक लाख ८२ हजार ६८३ रुपियाँ पुग्ने अनुमान कार्यालयले गरेको हो ।

यो गत आवको तुलनामा २७ डलरले बढी हो । गत आवमा नेपालीको आय एक हजार ३७२ पुग्ने अनुमान थियो ।

त्यस्तै अर्थतन्त्रको तुलनामा कुल गार्हस्थ बचत भने केवल ६.४१ प्रतिशत हुने देखिएको छ । अर्थतन्त्रको तुलनामा खर्च भने ९३.५९ प्रतिशत मात्र हुने देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।