नेपाल टेलिकमले ल्यायो वाइफाइ ६ सहित नयाँ फाइबर इन्टरनेट प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाई ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमका अनुसार नयाँ प्याकेज भाेलिदेखि लागू हुनेछ । ‘वाइफाई ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यस्तै, कम्पनीले नयाँ प्याकेजका रूपमा ३० एमबीपीएसको इन्टरनेट सेवा वार्षिक चार हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

टेलिकमका अनुसार यी सबै प्याकेजको समयावधि १२ महिना हुनेछ । वार्षिक प्याकेज लिने ग्राहकले ८०० देखि एक हजार एमबीसम्म मोबाइल डेटा पनि प्राप्त गर्नेछन् ।

नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा नयाँ प्याकेजसम्बन्धी जानकारी दिइएको हो ।