काठमाडौं । विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर २०८३ भदौ मसान्तसम्म आइपुग्दा ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोडबाट ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब १० अर्ब ७६ करोड र बैंक तथा वित्तीय संस्थाहरूमा ४ खर्ब ५५ अर्ब १ करोड रहेको छ ।
बैंकिङ क्षेत्रसँग रहेको यो विदेशी विनिमय सञ्चितिले आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आयातलाई आधार मान्दा २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात सजिलै धान्न सक्ने देखिन्छ । २०८३ भदौ मसान्तमा सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.६ प्रतिशत, कुल आयातसँगको अनुपात १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.९ प्रतिशत पुगेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्मको अवधिमा चालु खाता एव खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब ९७ करोड मात्र रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता यस पटक बढेर १ अर्ब ११ करोड पुगेको छ । यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ९८ करोड भित्रिएको छ ।
बाह्य क्षेत्रको यो अनुकूल अवस्थाका कारण समग्र शोधनान्तर स्थिति पनि एव खर्ब ८७ अर्ब ६८ करोडले बचतमा रहेको तथ्यांकमा उल्लेख छ ।






























