‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल–२०२३’ को घोषणा

काठमाडौं । ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल–२०२३’ आयोजना गर्ने घोषणा गरिएको छ । सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस–२०२३’ मा नेपालको तर्फबाट प्रतियोगी चयन गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताका उपाधि विजेता मिस तथा मिसेस दुबैले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा सञ्चालन हुने ‘हेरिटेज पेजेन्टस्–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

ग्रीन आर्टस् मिडियाले नेपालमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो । हेरिटेज पेजेन्टस्को आयोजक संस्था ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगीताको लागि आधिकारिकता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाणपत्र दिएका छन् ।

ईप्लानेटले फेसन कोरियोग्राफरसमेत रहेकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक समेत चयन गरेको छ ।

यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिसनबाट ‘हेरिटेज पेजेन्टस’ का लागि प्रतियोगी छनौट गरि लैजाने गरिएकोमा अबदेखि कार्यक्रमसहित प्रतियोगीको छनोट गर्न लागिएको हो ।

सन् २०१६ देखि नियमित रुपमा नेपालको सहभागिता रहँदै आएको प्रतियोगितामा २०२२ मा परिन्दा परि श्रेष्ठले मिसेस हेरिटेज नेपाल तथा परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । परिन्दाले मिसेस एसिगेन्स तथा परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।