काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा बैठक ९ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मुख्यसचिव र राजदूत नियुक्ती गर्ने तयारी छ ।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । हालका मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ ।
मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो । मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अवकासमा जानेमा थिए । वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए ।
उनले राजदूतको रुपमा भारत,चीन र अमेरिका नपाउने भए आफुलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको स्रोत बताउंछ ।
परराष्ट्र सचिव भरत पौडेललाई समेत क्यानडाको राजदूत बनाउने तयारी छ । उनको ठाउंमा सेवा लम्शाल परराष्ट्र सचिव बन्ने लगभग निश्चित छ । यसपटक सचिवका लागि तीन जनाको सिफारिस समेत आवश्यक नपर्ने भएको छ । लम्शाल सबैभन्दा सिनियर सहसचिव हुन् ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी राजदूतमा लोकबहादुर थापाको सम्भावना छ । उनि यसअघि ब्रसेल्समा राजदूत समेत थिए ।
न्युयोर्कका लागि परराष्ट्र सचिव समेत लविङमा छन् । तर, उनको कार्यसम्पादनबाट प्रधानमन्त्री दाहाल सन्तुष्ट नभएकाले उनलाई अन्तै व्यवस्थापन गर्ने सम्भावना बढी छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको कार्यसम्पादन समेत कमजोर भएको बताइन्छ । उनलाई फिर्ता बोलाएर चीन अर्कै व्यक्तिलाई राजदूत बनाउने सम्भावना समेत बढेर गएको छ । पूर्व राजदूत युवनाथ लम्शाललाई समेत आजै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार बनाउने सम्भावना छ ।
अहिले थाइल्याण्ड, फ्रान्स, कुवेत, जेनेभा, युएई, क्यानडा र न्युयोर्क गरेर सात ठाउं रिक्त छ । रिक्त रहेका सबै नियोगमा परराष्ट्र सेवा कर्मचारी राजदूत थिए ।
अहिले पनि परराष्ट्र सेवाबाटै राजदूत पठाउने तयारी भएपनि केही ठाउं राजनीति क्षेत्रबाट समेत राजदूत पठाउनुपर्ने लविङ भइरहेको छ ।
थापा,पौडयाल, तेजबहादुर क्षेत्री, सुधिर भट्टराई र घनश्याम लम्शाल राजदूत बन्ने निश्चित छ । राजदूतका लागि धनबहादुर ओली र रामप्रसाद सुवेदी समेत दौडमा छन् ।