काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन्।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५१ लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्स कम्पनीले २५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको कम्पनीहरूले जनाएका छन्।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री तथा एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्ले र प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीहरूले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताअनुसार कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन तथा राहत एवं पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको जनाएका छन्।
दुवै कम्पनीले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन्।
कम्पनीहरूले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय तथा राहतमुखी कार्यमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
































