कालिका लघुवित्तको नाफा ह्वात्तै बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ह्वात्तै बढेको छ । यसअवधिमा खुद नाफा १३४.०३ प्रतिशतले बढेर ६ करोड ३१ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा ह्वात्तै बढेको हो । यसअवधिमा २ करोड ७८ लाख ५७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ ।

अघिल्लो वर्ष यसको इम्पेयरमेन्ट चार्ज ३ करोड २४ लाख ६४ हजार रुपैयाँ थियो । यता, खुद ब्याज आम्दानी सामान्य मात्रै बढेको छ । १ वर्षमा खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख ९ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । यसको वितरणयोग्य नाफा ३ करोड ४४ लाख ९८ हजार रुपैयाँ देखिएको छ ।

उक्त रकमबाट यसले ९.२७ प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७२.७० रुपैयाँ छ । एनपीएल ३.७९ प्रतिशत कायम भएको छ ।