अब लघुवित्तका ऋणीले २ वटा संस्थाबाट ऋण लिन पाउने

काठमाडौं । अब लघुवित्तका ऋणीले २ वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । केन्द्रीय बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।यसअघि १ ऋणीले १ लघुवित्तबाट मात्रै ऋण लिन पाउने व्यवस्था थियो ।

‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

निर्देशनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने उल्लेख गरेको छ ।

यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नुपर्ने व्यवस्था छ ।