आजदेखि सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

काठमाडौं ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज (साउन ४ गते) शुक्रबारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला गरेको छ ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९५४ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिन्छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै  सेयर बिक्री  नभएमा  साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।