चिया बिक्री नहुँदा किसान मर्कामा

हिले । धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ ।

अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।

थापाको मात्र नभई पछिल्लो समय धनकुटामा कृषकको हरियो पत्ती बिक्न छाडेको गुनासो छ । जसका कारण चिया खेतीबाट पलायन हुनुपर्ने अवस्था आएको कृषक बताउँछन् ।

त्यसो त कृषकका धेरै बगानमा हरियो पत्ती टिप्ने, मलजल र काँटछाँट गर्न छोडेपछि केहीअघिसम्म मनै लोभ्याउने चियाका बुटा अहिले झाडीमा परिणत हुँदै गएका छन् । धनकुटाको हिले, पाख्रीबास, मूर्तिढुङ्गा, भिरगाउँ र परेवादिनलगायतका धेरै स्थानको चियाको अवस्था अहिले उस्तै छ ।

न्यून मूल्यमा हरियो पत्ती बेच्नुपर्ने बाध्यता, श्रमिक अभाव लगायतका कारण किसान चिया खेतीबाट टाढिन थालेको अर्का चिया कृषक धनबहादुर बस्नेतको गुनासो छ ।

धनकुटामा चिया खेती सुरु भएको करिब चार दशक बितेको छ । धनकुटाका पाँच सयभन्दा बढी कृषक यो खेतीतर्फ लागेका छन् । अन्य तीन चिया फ्याक्ट्रीको समेत चिया बगान छ । जिल्लामा तीन ठुला र केही सहकारीमार्फत उद्योग सञ्चालनमा छन् ।

धनकुटामा एकातिर हरियो पत्ती नबिक्ने कृषकको गुनासो छ । अर्कोतिर उद्योगले कच्चा पदार्थका रूपमा चाहिने हरियो पत्ती भनेजति नपाउँदा उद्योगहरूको आफ्नो उत्पादन क्षमता अनुसार उत्पादन नभएको गुनासो छ ।

धनकुटामा ११८ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । जसबाट वार्षिक दुई लाख २१ हजार हरियो पत्ती चिया उत्पादन हुँदै आएको छ । यो हरियो पत्ती खपत गर्न तीन मझौला उद्योग र केही सहकारीमार्फत साना उद्योग स्थापना गरिएको छ तर कृषकले हरियो पत्ती बिक्री नै भएन भनिरहँदा हरियो पत्ती खपत गर्ने उद्योग भने कच्चा पदार्थ अभावको समस्या झेलिरहेका छन् ।

हिलेस्थित गुराँसे टी स्टेटलाई मात्र वार्षिक एक लाख २० हजार किलो हरियो पत्ती आवश्यक छ तर यो उद्योगले कच्चा पदार्थ अभावकै कारण अहिले आफ्नो उत्पादन क्षमताको ३३ प्रतिशत मात्र उत्पादन गर्दै आएको गुराँसे टी स्टेट प्रा.लि.का म्यानेजर नवीन कार्की बताउनुहुन्छ ।

गुराँसेबाहेक अन्य दुई उद्योगको पनि अवस्था उस्तै छ । कच्चा पदार्थ जति भेटे पनि किन्ने अवस्थामा उद्योग छन् । त्यसो त कृषकको हरियो पत्ती उद्योगसम्म पुग्न नसक्नुमा कामदार अभाव, कृषक व्यावसायिक बन्न नसक्नु जस्ता समस्या रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड हिलेको अनुमान छ ।

कृषकले गुणस्तरीय तथा व्यावसायिक उत्पादनका साथै सङ्कलन केन्द्रमा जोड दिनुपर्ने कार्यालयका निमित्त प्रमुख वसन्तराज भण्डारी बताउनुहुन्छ । पछिल्लो समय धनकुटामा कफीलगायत अन्य बालीको खेती बढ्दै जाँदा चिया खेतीमा समस्या आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. विष्णु भट्टराई बताउनुहुन्छ ।

“धनकुटाको चिया गुणस्तरीय भए पनि कृषक कफी, एभोकाडो, किवी जस्ता बालीतर्फ लाग्दा समस्या भएको हो,” भट्टराई भन्नुहुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।