समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु ।”

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।

साथै, राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु ।”