सिन्धुली । पटक–पटकको बाढीपहिरो र सडक अवरोधका कारण सिन्धुलीको मुलकोट क्षेत्रका होटल तथा रिसोर्ट व्यवसायी पुनः समस्यामा परेका छन्। विगतमा बाढीबाट ठूलो क्षति व्यहोरेका व्यवसायीले अहिलेसम्म उचित क्षतिपूर्ति नपाएको गुनासो गरिरहेका बेला पछिल्लो बाढीको प्रभावले पर्यटन व्यवसायमा थप चुनौती सिर्जना भएको उनीहरूको भनाइ छ।
२०८३ भदौ १० गते रसुवागढी क्षेत्रमा आएको बाढी तथा भोटेकोशीमा आएको ठूलो बाढीपछि सडक तथा यातायात क्षेत्रमा परेको असरको प्रत्यक्ष प्रभाव सिन्धुलीको मुलकोट क्षेत्रसम्म परेको व्यवसायीहरूले बताएका छन्।
यसअघि २०८१ असोज १० र १२ गते आएको बाढी तथा रोशी खोलाको बाढी र बीपी राजमार्गमा भएको क्षतिका कारण मुलकोट क्षेत्रका दर्जनौँ होटल, रिसोर्ट तथा पर्यटन व्यवसाय प्रभावित भएका थिए। बाढीका कारण होटल तथा रिसोर्टमा क्षति हुनुका साथै लामो समयसम्म यातायात आवागमन प्रभावित हुँदा व्यवसायीहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो।
बाढीपछि लामो समयसम्म व्यवसाय प्रभावित भए पनि पछिल्लो समय पर्यटकको आवागमन विस्तारै बढ्न थालेको र व्यवसाय सामान्य अवस्थामा फर्किने अपेक्षा गरिरहेका बेला फेरि बाढीका कारण सडक तथा यातायातमा समस्या देखिन थालेपछि व्यवसायीहरू चिन्तित बनेका छन्।
व्यवसायीहरूका अनुसार आम्दानी घटे पनि घरभाडा, कर्मचारीको तलब, बैंकको किस्ता तथा दैनिक सञ्चालन खर्च भने निरन्तर रहन्छ। लामो समय व्यवसाय प्रभावित हुँदा आर्थिक दायित्व थपिँदै गएको उनीहरूको भनाइ छ।
मुलकोटका व्यवसायीहरूले विगतमा बाढीका कारण ठूलो क्षति भए पनि हालसम्म आफूहरूले अपेक्षित क्षतिपूर्ति तथा राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
एक व्यवसायीले भने, “विगतको बाढीले हाम्रो व्यवसायमा ठूलो क्षति पुर्यायो। व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आयो। तर अहिलेसम्म क्षतिको उचित मूल्यांकन र क्षतिपूर्ति पाउन सकेका छैनौँ। अहिले फेरि बाढीका कारण व्यवसाय प्रभावित हुन थालेको छ।”
मुलकोटमा पर्यटन व्यवसायको ठूलो लगानी
मुलकोट आन्तरिक तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आएको क्षेत्र हो। यहाँ Kwality Beach Resort, Taj Resort, Pawa Resort, Unique Resort लगायत दर्जनाै होटल तथा रिसोर्ट सञ्चालनमा छन्।
मुलकोटको पर्यटन व्यवसायमा निजी क्षेत्रको ठूलो लगानी रहेको र यसबाट स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधिसमेत बढेको व्यवसायीहरूको भनाइ छ। होटल तथा रिसोर्टमा पर्यटकको आवागमन घट्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय कृषि, पसल तथा अन्य व्यवसायमा समेत पर्ने गरेको छ।
मुलकोटको पर्यटन व्यवसायमा भएको ठूलो लगानी र यससँग जोडिएको स्थानीय रोजगारी तथा आर्थिक गतिविधिलाई संरक्षण गर्न बाढी तथा सडक समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।































