याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आईपीओ निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म थप गरेको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको बताएको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये ७ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो सेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।