नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६ संस्करण लन्च गरेको छ । शहरी प्रयोगका लागि लक्षित सो मोटरसाइकल नयाँ रङ विकल्प तथा बेस प्रिमियम भेरिएन्टसहित बजारमा लन्च गरिएको हो । सो नयाँ भेरिएन्टको मूल्य १ लाख ४९ हजार ९०० भारु निर्धारण गरिएको छ।

कम्पनीले लखनऊमा आयोजित हन्टरहुड कार्यक्रममा नयाँ मोडल लन्च गरेको हो। नयाँ हन्टर ३५० को बुकिङ अप्रिल ४ देखि सुरु भइसकेको छ। नयाँ हन्टरको सबैभन्दा ठुलो परिवर्तन बेस प्रिमियम भेरिएन्टमा गरिएको छ । ग्राहकहरूको मागलाई मध्यनजर गर्दै कम्पनीले बेस मोडलमै महत्वपूर्ण सुधार गरेको छ।

अब स्पोक रिमको सट्टा अलोय ह्विल समावेश गरिएको छ, जसले मोटरसाइकलको लुक्स र प्रदर्शन दुवैमा सुधार ल्याएको छ।

साथै, डिजिटल र एनालग संयोजन भएको इन्स्ट्रयुमेन्ट क्लस्टर र रोटरी स्विचगियरले मोटरसाइकललाई थप आकर्षक र परम्परागत शैलीको अनुभूति दिन्छ। फिचरका रुपमा नयाँ हन्टर ३५० मा नयाँ डिजाइनको सिट, स्पोर्टी ग्र्याब रेल, सिंगल च्यानल एन्टि(लक ब्रेकिङ सिस्टम र स्लिप तथा असिस्ट क्लच जस्ता समावेश गरिएको छ ।

रोयल इन्फिल्डले सधैंझैं यसपटक पनि रङ संयोजनमा विशेष ध्यान दिएको छ। नयाँ रङले विशेषगरी युवापुस्तालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। सो मोडल अब ठुला शहरसँगै साना शहर र ग्रामीण बजारसम्म विस्तार हुने अपेक्षा गरिएको छ।