नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल औषधि उत्पादक संघको महाधिवेशन आउँदो साउन १९ गते सोमबार काठमाडौंमा हुने भएको छ।

संघको आइतबार बसेको कार्यसमिति बैठकले महाधिवेशन तयारीलाई तीव्रता दिने उद्देश्यले निर्वाचन समिति र अधिवेशन तयारी समिति गठन गरेको छ।

बैठकले संघका निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्य रहेका छन्।

त्यस्तै, अधिवेशनको व्यवस्थापन तथा तयारीका लागि वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टाको संयोजकत्वमा अधिवेशन तयारी समिति बनाइएको छ।

समितिमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्। संघका अनुसार अधिवेशनमा औषधि उद्योग सम्बन्धी नीति, प्रविधि र व्यवसायको वर्तमान अवस्था तथा सुधारका विषयमा छलफल गरिनेछ।